काठमाडौं । । जिल्ला समन्वय समिति अछामको प्रमुख र प्रमुख दुबै नेपाली कांग्रेसले जितेको छ । प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ललितबहादुर कुँवर निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न मतदानमा कुँवरले १२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित जिसस प्रमुख कुँवर अछाम साँफेवगर नगरपालिका–८ बाट ३ सय ८५ मत प्राप्त गरी नगरसभा सदस्यमा निर्वाचित भएका थिए ।यस्तै उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही निर्वाचित भएकी छन् । उनले पनि १२ मत प्राप्त गर्दै एमाले उम्मेदवार पुतलीदेवी रावललाई पछि पारेकी हुन् ।
दानमती पञ्चदेवल नगरपालिका–४ बाट ५ सय ८० मत सहित नगरसभा सदस्यमा निर्वाचित भएकी थिइन् । जिल्ला समन्वय समितिका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।
समन्वय समिति सदस्यहरुमा कांग्रेसका तर्फबाट नरेन्द्र कुँवर, लक्ष्मी सुवर्णकार, द्वारिका उपाध्याय, पूर्ण रावलले र चक्राकुमारी रावल गरी पाँच जना निर्वाचित भएका छन् । माओवादीबाट प्रनाथ विक र एकीकृत समाजवादीबाट सीता भण्डारी निर्वाचित भएका छन् ।
१० स्थानीय तह रहेको अछाममा कांग्रेसले प्रमुख र उपप्रमुख गरेर ११, एमालेले ६, माओवादीले दुई र समाजवादीले एक पद जितेको छ ।संविधान अनुसार जिल्ला सभामा जिल्लाभित्रका पालिकाका प्रमुख उपप्रमुखहरु रहने व्यवस्था छ । जिल्ला सभाले निर्वाचनमार्फत गाउँ/नगर सभाका सदस्यहरुमध्येबाट जिल्ला समन्वय समिति छान्ने व्यवस्था रहेको छ ।
यस्तै रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको प्यानलै विजयी भएको छ ।एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका छन् ।
कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा रहेकी छन् ।
त्यस्तै दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराए । गठबन्धनका कारण लोसपा र समाजवादीका उमेदवार पराजित हुन पुगे ।