Latest News

प्रहरीबाटै लुटिए व्यापारी, मोबाइलबाट खुल्यो यस्तो रहस्य

Nepalese Times June 3, 2022 (2 Year ago)    561 Views

काठमाडौं । काठमाडौंको लैनचौरमा दुई साताअघि भएको लुटपाटमा प्रहरीकै संलग्नता खुलेको छ । अनुसन्धानको क्रममा एक व्यापारी प्रहरीबाटै लुटिएको खुलेको हो ।

घटनाको अनुसन्धान भइरहेको र मान्छेको पहिचान भइसकेको भन्दै परिसरका प्रमुख एसएसपी सुदीप गिरीले केही मान्छेलाई समातिएको र केहीलाई पक्राउ गर्ने तयारीमा रहेको बताए ।

लुटपाटमा संलग्न व्यक्तिहरुले एक किलो सुन ३५ लाख रुपैयाँमा दिने भन्दै बोलाएपछि सुन व्यापारी झोलामा ३५ लाख रुपैयाँ लिएर त्यहाँ पुगेका थिए। तर उनलाई सुन नदिई प्रहरीसहितको समूहले रकम लुटेर भागेको थियो।

एक किलो सुनलाई शुक्रबारको बजार मूल्यअनुसार ८४ लाख ४५ हजार रुपैयाँ पर्छ। एसएसपी गिरी भन्छन्, ‘व्यापारी लोभमा पर्दा घटना घट्न पुग्यो। यस्तो गलत कुरा पत्याउनै नहुने। हामी अनुसन्धान सकेर सबै कुरा सार्वजनिक गर्छौँ।’

सुन किनबेचका लागि भनेर उनीहरु लैनचौरको ब्याडमिन्टन कोर्टमा भेला भएका थिए। उनीहरुले व्यापारीलाई सुन नदिई पैसा लुटेर फरार भएका थिए।

लुटपाटमा दुई जना प्रहरी पनि संलग्न रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। तर परिसरले भने यसबारे अनुसन्धान भइरहेको भन्दै बताउन चाहेन।

व्यापारीको ३५ लाख रुपैयाँ लुटेर भाग्दा मोबाइल खसेको थियो। त्यो खसेको मोबाइल नै प्रहरीको भएको खुलेको हो। त्यो मोबाइल लिएर लुटपाटमा परेका व्यापारी नै प्रहरी कार्यालय पुगेका थिए।

त्यही मोबाइल प्रमाण बन्दा प्रहरीले लुटपाटमा संलग्न सहजै पत्ता लगाउन सकेको हो। तर एसएसपी गिरी भन्छन्, ‘लुटेरा पनि कति बाठा भएका हुन्। मोबाइल नै फालेर भागेका रहेछन्।’

प्रतिक्रिया दिनुहोस