Latest News

यी हुन् तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका गोरखाका एकै घरका चार जना

Nepalese Times May 30, 2022 (2 Year ago)    663 Views

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेरस गोरखाका एकै घरका चार जनाको ज्यान गएको छ ।

मुक्तिनाथ घुम्न गएका सहिद लखन गाउँपालिका–५ तिनमानेका ५२ वर्षीय गणेशनारायण श्रेष्ठको परिवारका चार जना जहाजमा रहेको खबर पाएपछि गाउँले स्तब्ध छन् ।

श्रेष्ठ श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठ र छोरीहरु २० वर्षीया रविना श्रेष्ठ र २३ वर्षीया रोजिना श्रेष्ठ विमानमा सवार थिए । अध्ययनको सिलसिलामा अमेरिका रहेका छोरीहरु रविना र रोजिना नेपाल आएको बेला गणेशनारायणको परिवार मुक्तिनाथ घुम्नका निस्किएका थिए ।

जहाज हरायो भनेर सुनेको र केहीबेरमा आफूहरुको छिमेकी पछि छ भन्ने थाहा भएपछि आफूहरु स्तब्ध भएको तिनमानेका विजय पुडासैनीले बताए ।

स्थायी घर तिनमाने रहेका गणेशनारायणका परिवार काठमाडौं बस्थे । गणेशनारायण पाँच जनाको परिवार थिए । गणेशनारायणसहित चार जना परिवार विमानमा सवार थिए ।

अध्ययनको सिलसिलामा अमेरिकामा रहेका छोरा रोशन पनि विमान हराएको खबर सुने लगत्तै नेपाल फर्केको गणेशनारायणका भान्जा नाता पर्ने कृष्ण श्रेष्ठले बताए ।

हराइरहेको जहाजमा तिनमानेका चार जना रहेको खबर सुनेलगतै गाउँपालिका अध्यक्ष रमेश थापालगायतका गाउँलेहरु आइतबार नै पोखरा पुगेका थिए । कास्कीका प्रजिअ, प्रहरी प्रमुख लगायतका सरकारी अधिकारीसँग भेटेर हराइरहेको विमानको बारेमा जानकारी लिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

विमान दुर्घटनामा परेकाहरुको शव काठमाडौं लैजाने जानकारी पाएपछि श्रेष्ठका आफन्त र छिमेकी सोमबार पोखराबाट काठमाडौंं गएका छन् ।

प्रतिक्रिया दिनुहोस