Latest News

यसअघि तारा एअरको जहाजलाई यात्रुहरूले यसरी धकेलेरै साइड लगाएका थिए (भिडिओसहित)

Nepalese Times May 30, 2022 (2 Year ago)    979 Views

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ –२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।

यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको मुस्ताङका डिएसपी रामकुमार धानीले बताए ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुनः सुरु गरिएको थियो । विमान १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

विमानमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।

यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका छन् ।

चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ । तारा यअरका जाहाजलाई केही वर्षअघिको एक अध्ययनले नै विश्वकै अति खतरायुक्त सूचीमा राखेको खुलेको छ ।

यसअघि पनि बाजुरा विमानस्थलमा यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलिरहेको दृश्य सामाजिक संजालमा छरपस्ट भएको थियो ।

एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरलाइन्सको जहाजको टायर पड्किएको थियो । जहाजको टायर पड्किएका कारण ट्याक्सी–वे अवरुद्ध भयो ।

विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म अन्य विमान उड्न नपाउने भए ।

‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो’ यात्रु खगेन्द्र खड्काले भने, ‘त्यसपछि हामीले धकेलेर उक्त जहाजलाई साइड लगायौँ ।’ पछि खड्का अर्को जहाज चढेर धनगढी आए । उनका अनुसार जहाजलाई यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएका हुन् ।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस