काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै फेला पर्न सकेको छैन । आइतबार बिहान ९ः५५ बजेदेखि सम्पर्कविहीन भएको जहाज अहिलेसम्म फेला पर्न नसकेको हो ।
पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन । विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताएका छन् । अन्धकार र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको उनले बताए ।
अधिकारीहरुका अनुसार विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । उद्दार टोलीका सदस्यको सुरक्षाका लागि पनि अहिले टोली फर्काउनुपरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
विमानका क्याप्टेन प्रभाकर घिमिरेको फोनमा विमान सम्पर्कविहीन भएपछि पनि सम्पर्क भएको थियो । नेपाल टेलिकमको उनको नम्बर ट्रेस गर्दा मोबाइलको लोकेसन टिटी लेकतिर देखाएको थियो ।
त्यसैले खोजीलाई त्यतै केन्द्रित गरिएको त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । तारा एयरका अनुसार पनि विमान मुस्ताङको न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि हुनसक्ने आशंका गरिएको छ ।
‘तिनै क्षेत्रमा वरिपरि खोजी कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्दार टोली परिचालन गरिएको थियो’ तारा एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘खोजीका लागि नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टर पनि प्रयोग गरिएको थियो ।’
सम्पर्कविहीन भएको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको नेपाली सेनाले जनाएको थियो । सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘मानापाथी हिमालको पहिरोमुनि लाम्चे खोलाको मुहानमा विमान भएको सूचना स्थानीयले दिएका छन्, त्यसैले सेनाको फौज स्थल र हवाई मार्गबाट त्यसतर्फ गइरहेको छ ।’
तर बेलुकीसम्म त्यस ठाउँमा सैनिक टोली पुग्न नसकेको सिलवालले बताए । उनले भने, ‘सम्भाव्य ठाउँमा खोजी जारी छ, यद्यपि अहिलेसम्म भेटिएको छैन ।’
यस्तो छ तारा यअरको विज्ञप्ति