काठमाडौं । कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान साढे तीन घण्टादेखि सम्पर्कविहीन छ। १९ जना यात्रुसहित आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमानको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
उडान भरेर जोमसोमतिर लागेको विमान मुस्ताङको शिखा पुगेपछि बेपत्ता भएको हो। त्यसयता विमानको अवस्था पत्ता लगाउन नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
मौसम प्रतिकूलताका कारण सम्पर्कविहीन जहाज खोज्न हेलिकोप्टर पनि पठाउन नसकिएको प्राधिकरणले उल्लेख गरेको छ। सम्पर्कविहीन विमानको अवस्थाबारे खोजतलासका लागि सम्भावित दुर्घटनास्थलतर्फ पठाइएको फिस्टेल एयरको हेलिकोप्टर प्रतिकूल मौसमका कारण जोमसोम नै फर्किएको छ।
काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा खोज तथा उद्धारका लागि थप हेलिकप्टरहरु ‘स्ट्यान्डबाई’ रहेकाले मौसममा सुधार आउनासाथ हवाइमार्गबाट खोजी कार्य सुरु गरिने खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
सम्पर्कविहीन जहाजको अवस्था अज्ञात रहेकै अवस्थामा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुमा तत्कालीन भारतीय सेनाध्यक्ष विपिन रावत दुर्घटनामा परेको हेलिकोप्टरको तस्बिर राखेर भ्रम छरिरहेका छन्।
सामाजिक सञ्जालमा फेसबुकका केही प्रयोगकर्ताहरूबीच तारा एयरको विमानमा सवार यात्रु र चालक दलका सदस्यहरुलाई ‘श्रद्धाञ्जली’ दिने होडबाजी नै चलेको छ। जसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयदेखि बागमती प्रदेश सरकारका मन्त्रीहरु पनि रहेका छन्।
प्रचण्डकी स्वकीय सचिव तथा पुत्री गंगा दाहालले दुर्घटनाको पुष्टि नहुँदै श्रद्धाञ्जली दिइसकेकी छन्। ‘दु:खद खबर! १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान लेतेमाथिको पहाडमा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी मृत्यु हुनुभएका सम्पूर्ण यात्रुलगायत चालक दलका सदस्यहरूमा हार्दिक श्रद्धाञ्जली अनि परिवारजनमा हार्दिक समवेदना।’
यद्यपि, उनले यो स्टाटस केही समयपछि फेसबुकबाट हटाएकी छन्। यस्तै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले पनि घटनाको आधिकारिक पुष्टि नहुँदै ‘श्रद्धाञ्जली’ दिएका छन्।
सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्क साम्पाङले पनि हतारोमा ‘श्रद्धाञ्जली’ दिएका छन्। उनले लेखेको छन्, ‘हवाइजहाज दुर्घटनामा परी ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै थोत्रे हवाइजहाजहरू बिसर्जन गर्न गराउन नेपाल सरकारलाई अनुरोध गर्दछु।’