काठमाडौं । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले तारा एअरको विमान मुस्ताङको लेते क्षेत्रमा खसेको आशंका भएको प्रतिक्रिया दिएका छन् ।
पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको हुन सक्ने उनले बताए ।
स्थानीयले त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको जानकारी दिएका आधारमा जहाजको खोजीका लागि हेलिकोप्टर र स्थलमार्गबाट खोज कार्य तिब्र पारिएको छ । तर अहिलेसम्म जहाज सम्पर्कमा आएको छैन ।
मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।
सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा रहेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन् ।
सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले बताएका छन् ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो। नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए। जहाजमा चालक दलसहित २२ जना रहेका थिए ।
यात्रुहरुमा वाजभवी बन्देकर, ईन्द्र बहादुर घले, पुरुषेत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रमि श्रेष्ठ र रोजिना श्रेष्ठ जहाजमा रहेका थिए ।
यस्तै तारा एअरको जहाजमा प्रकाश सुनुवार, मकर बहादुर तामाङm राममायाँ तामाङ, तुलसा देवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ रहेका थिए ।
चालक दलको सदस्यहरुमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरेसहित को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एअरले जनाएको छ ।