Latest News

सवारी आवागमन बन्द गर्ने निर्णय, कहिलेदेखि कहिलेसम्म ?

Nepalese Times May 28, 2022 (1 Year ago)    538 Views

काठमाडौं । सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडक खण्ड छ महिनाका लागि बन्द गरिएको छ ।

गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड ६ महिनाका लागि बन्द भएको हो ।

सुनकोसी नदीमा पानीको बहाव बढेसँगै बेलिब्रिज खोलिएपछि अब छ महिनाका लागि पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडक मार्गमा यातायात सेवा बन्द हुनपुगेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेले जनाएको छ । यहाँ छ महिनापछि पुनः अस्थायी बेलिब्रिज जडान गरिनेछ ।

कार्यालयका अनुसार गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका–५ को फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ स्थित लिच्की राम्चे बीचको सुनकोसी नदीमा गत साल मङ्सिरमा जडान गरिएको अस्थायी बेलिब्रिज बिहीबार खोलिएपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द भएको हो ।

वर्षायाम सुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढ्न थालेका कारण नदीको बहावले बेलिब्रिज भत्काउन सक्ने भएकाले अहिले हटाइएको कार्यालयले जनायो ।

उक्त स्थानमा रौता रुक्मिणी निर्माण कम्पनी प्रालिले बेलिब्रिज हिउँदका समयमा जडान गर्ने र वर्षायाममा हटाउने ठेक्का लिएको छ । उक्त बेलिब्रिज हटाइएपछि गाईघाटदेखि दिक्तेलसम्म सिधै सञ्चालन हुँदै आएका यातायातका साधन छ महिनाका लागि बन्द भएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरले जनाएको छ ।

उक्त सडकखण्डमा सम्पूर्ण यातायातका साधन बन्द हुँदा दैनिक खाद्यान्न ढुवानी र उपभोग्य वस्तु आपूर्तिमा जटिल समस्या आएको खोटाङ दिप्रुङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठ बताए । “बेलिब्रिज हटाएपछि खोटाङको तल्लो क्षेत्रमा दैनिक उपभोग्य वस्तु र खाद्यान्न ढुवानीमा समस्या परेकाले स्थानीयलाई निकै समस्या पर्दछ”, उनले भने ।

खोटाङको दक्षिणी क्षेत्र र तल्लो पूर्वी क्षेत्रका जनताले दैनिक उपभोग्य वस्तु प्रायः विराटनगर, धरान, इटहरी, सप्तरी र उदयपुरको गाईघाटबाट दिक्तेल सडक हुँदै ढुवानी गर्ने गरेका थिए ।

यस्तै बेलिब्रिज हटाइएपछि खोटाङ पश्चिम तथा उत्तरी क्षेत्र नागरिकले भने सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुङ्गाको हर्कपुर, जयराम घाट, हलेसी हुँदै दैनिक उपभोग्य सामग्री ब्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सगरमाथा लोकमार्ग अन्तर्गत १५८ किलोमिटर लामो दूरीको गाईघाट–दिक्तेल सडकखण्डको औपचारिक शिलान्यास गरेका थिए । २७ वर्ष बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन सकेको छैन । साथै २०६७ मा सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल ११ बर्ष बितिसक्दा पछि ४० प्रतिशत काम सम्पन्न हुन सकेको छैन ।

सुनकोसी नदीमा पक्की पुल निर्माण सम्पन्न नहुँदा विसं २०७० देखि हिउँद समयमा अस्थायी बेलिब्रिज प्रयोग गरिँदै आइएको थियो । सोही बेलिब्रिज वर्षायाममा खोल्ने र हिउँदा जोड्ने गरिएको हो ।

यस वर्ष ६ महिनासम्म सञ्चालनमा आएको गाईघाट–दिक्तेल सडक अन्तर्गत सुनकोसीको पचास मिटर लम्बाइ र छ मिटर चौडाईको अस्थायी बेलिब्रिज छ महिनापछि पुनः जोडिने कन्स्ट्रक्सन प्रालिका महेश रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस