Latest News

काठमाडौं महानगरः सिर्जना सिंहको वडाको पछिल्लो नतिजा सार्वजनिक, कसले कति मत ल्याए ?

Nepalese Times May 25, 2022 (2 Year ago)    743 Views

काठमाडौं महानगर पालिकामा मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको वडामा अहिले मत गणना भइरहेको छ । उनको वडामा पनि पनि दोब्बर मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् ।

सिंहले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा साहले २५६९ मत पाएका छन् भने प्रतिस्पर्धी सिंहले ११९० मत प्राप्त गरेकी छन् ।

त्यस्तै यो वडामा एमाले उम्मेदवार केशव स्थापितले ९९० मत पाएका छन् । अहिलेसम्म उक्त वडामा कुल खसेको १२३३६ मतमध्ये ६४५३ मत गणना भएको छ ।

पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार साहले ५५ हजार भोट कटाएका छन् । उनका प्रतिस्पर्धीद्वय सिंह र स्थापित निकै पछाडि छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको छ ।

काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ । अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् ।

यस्तै काठमाडौं महानगर–१९ को वडाध्यक्षमा नेपाली कांग्रेसले बाजी मारेको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।

यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार कांग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस