Latest News

संघीय चुनावका लागि माधव नेपालले गरे उम्मेदवारी घोषणा, कहाँबाट उठ्दै छन् ?

Nepalese Times May 24, 2022 (2 Year ago)    616 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले १५ वर्षपछि चुनाव लड्न आफ्नै गृहजिल्ला रौतहट फर्किने भएका हुन् ।

नेपाल गौर नगरपालिका वडा नम्बर २ का मतदातासमेत हुन् । उनले मतदान गरेको नगरपालिकामा नेकपा एसले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

मेयर शम्भु साहले पनि पार्टी अध्यक्ष नेपाल रौतहट १ बाट चुनाव लड्दा पार्टीले सहजै जित्ने दावी गरेका छन् । गौरमा होइन नेपालकै निर्वाचन क्षेत्रमा रहेको बौधीमाई नगरपालिकामा पनि नेकपा एसले जितेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका थिए । अब आफ्नै जन्मथलो गौरबाटै चुनाव लड्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालले आवश्यक तयारी गरेका हुन् ।

रौतहटमा एकीकृत समाजवादीले अहिलेसम्म चारवटा पालिका जितेको छ भने अर्को एउटामा प्रतिस्पर्धा छ । नेकपा एसले गौर र बौधिमाईसहित राजदेवी र बृन्दावन नगरपालिकामा जित निकालिसकेको छ ।

गरुडा नगरपालिकामा नेकपा एमालेसँग प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको मतको भर नहुने र गठबन्धन गर्दा पनि ठेगान नहुने भएकाले रौतहट नेपालका लागि सुरक्षित ठानिएको छ ।

काठमाडौंमा माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनहरा, शंखरापुर, महानगरपालिकाका ९ र ३२ वडामा कतै पनि नेकपा एकीकृत समाजवादीले जित निकाल्न सकेको छैन ।

रौतहटबाट चुनाव लड्न कांग्रेस, माओवादी र जसपाको समेत गठबन्धनको सहयोगले नेपाललाई जित्न सहज हुने नेकपा एकीकृत समाजवादीको ठम्याइ छ । नेपाल रौतहटबाट चुनाव लडेको अवस्थामा नेकपा एसले गठबन्धनमा काठमाडौं ५, ७ र ८ नम्बर क्षेत्र दावी गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस