Latest News

काठमाडौंमा १ लाख ४५ हजार मत गनेर सकियो, यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 24, 2022 (2 Year ago)    727 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ४५ हजार मत गनेर सकिएको छ । काठमाडौं महानगरपालिकाको २२ वटा वडाको मतगणना सकिएको हो । वडा नम्बर एकदेखि १२ सम्म तथा २३ देखि ३२ सम्मको मत गणना सकिएको छ।

अहिले वडा नम्बर १७ बाहेक बाँकी ९ वडाको मत गणना जारी छ। हालसम्म कुल १ लाख ४५ हजार ३ सय ६२ मत गणना हुँदा मेयर पदमा १ लाख २३ हजार ४०१ सदर मत परेको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कामयमै छ। उनले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ४० प्रतिशत मत पाएका छन्।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत अर्थात कुल खसेको सदर मतको २४.३७ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले २९ हजार २८४ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २३.७३ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म ८५३३ मत पाएका छन्। जुन कुल सदर मतको ६.९१ प्रतिशत हो।। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ४४८७ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३.६४ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ५५१ मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४५ प्रतिशत पाएकी छन्। मेयर पदका अन्य उम्मेदवारले हालसम्म १९१९ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०.९१ प्रतिशत पाएका छन्।

प्रतिक्रिया दिनुहोस