Latest News

भरतपुरको मेयरमा निर्वाचित भएकी रेनु दाहाल र दोस्रो भएका विजयले कति भोट ल्याए ?

Nepalese Times May 24, 2022 (2 Year ago)    639 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मत गणना नसकिँदै वजयी भएकी रेनु दाहाल १२ हजार तीन सय २३ मतले अघि छिन्।

९१२ मत गणना गर्न बाँकी हुँदा दाहालले ५१६६६ मत ल्याएकी छन्। अहिलेसम्म एक लाख २६ हजार नौ सय ५७ मत गणना गरिसकिएको छ।

नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार एमाले नेता विजय सुवेदी ३९३४३ मतसहित पछ्याइरहेका छन्। चितवनमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १४७४१ मत ल्याएका छन्।

उपमेयर पनि सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ। उनले अहिलेसम्म ५२४२१ मत ल्याएका छन् भने एमाले(राप्रपा गठबन्धनबाट उपमेयरमा राप्रपाकी हिमला गुरुङले ३०४७७ मत ल्याएकी छन्।

यस्तै अहिलेसम्म देशभरबाट ७ सय ३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।

कांग्रेसले हालसम्म १३४ मेयर र १८८ अध्यक्षसहित ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ भने १०५ पालिकामा उपमेयर र १९० पालिका उपाध्यक्षसहित कुल २ सय ९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।

यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख, २ सय २९ वटा पालिकाको उप–प्रमुख जितेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुखमा विजयी हाँसिल गरेको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकाको प्रमुख र २३ वटा पालिकामा उपप्रमुख पद जितेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख र १२ वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ। यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ।

विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।

१२ जना स्वतन्त्र उम्मेदवारले ३ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन्। त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन् ।

प्रतिक्रिया दिनुहोस