काठमाडौं । अहिलेसम्म देशभरबाट ७ सय ३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ।
पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।
कांग्रेसले हालसम्म १३४ मेयर र १८८ अध्यक्षसहित ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ भने १०५ पालिकामा उपमेयर र १९० पालिका उपाध्यक्षसहित कुल २ सय ९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।
यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख, २ सय २९ वटा पालिकाको उप–प्रमुख जितेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुखमा विजयी हाँसिल गरेको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।
जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १८ वटा पालिकाको प्रमुख र २३ वटा पालिकामा उपप्रमुख पद जितेको छ।
लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख र १२ वटा पालिकाको उपप्रमुख पद जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।
राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ। यस्तै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख जितेको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयर जितेको छ।
विवेकशील साझा पार्टीले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ। जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद हात पारेको छ।
१२ जना स्वतन्त्र उम्मेदवारले ३ उपमहानगरसहित पालिकाको प्रमुख जित्न सफल भएका छन्। त्यस्तै ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको उपप्रमुख पद जितेका छन्।