Latest News

भरतपुर महानगरको मतगणना फेरि रोकियो, गणनास्थलमा तनाव

Nepalese Times May 23, 2022 (2 Year ago)    526 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाको फेरि रोकिएको छ। नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध भएको हो ।

सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।

भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छन् ।

चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म १ लाख १२ हजार मत गनेर सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४४७१० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४३९६ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३६१३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४५८४० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७१८१ मत प्राप्त गरेकी छन् ।

यस्तै ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२६ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकाको नतिजा आइसकेको छ भने बाँकी ५ महानगरको नतिजा आउन बाँकी छ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र पोखरा महानगरपालिकामा अन्तिम मतपरिणाम आउन बाँकी छ।

ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाइरहेका छन्।

११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ। अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस