Latest News

पोखरा महानगरको मत गणना अन्तिम चरणमा, यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 23, 2022 (2 Year ago)    796 Views

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

सोमबार दिउँसोसम्ममा एक लाख २५ हजार ५२० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ ।

आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने उनको भनाइ छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले चार हजार २९ मतको अग्रता कायम गरेका छन् ।

आचार्यले ५० हजार ६१२ मत पाएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गरेका छन् । गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाएका हुन्।

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए । महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गरे । यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको दुई हजार ८६४ मत ल्याएका छन्।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ । गठबन्धनका उम्मेदवार रानाभाट तीन हजार ५८७ मतले पछाडि परेका छिन्।

मतगणनाको सुरुआती चरणदेखि अग्रता बनाएकी रानाभाटलाई अन्तिम चरणमा गुरुङले पछि पारिन् । उपप्रमुखमा राप्रपाका रञ्जना सेनको पाँच हजार ३१८ मत रहेको छ ।

पोखरामा हालसम्म २५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस