काठमाडौं । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीले आफूले व्यहोर्नु परेको हारको कारण खुलाएका छन् । सोमवार फेसबुकमार्फत् उनले हारको कारण खुलाएका हुन् ।
उनले भोट किन्न नसक्नु, पैसा बाँड्न नसक्नु, मदिरामा खर्च नगर्नु, मारपिट गर्न नसक्नु, भ्रम फैलाउन नसक्नु, सुरा सुन्दरी र सम्पत्तिप्रति आशक्ति नहुनुलगायत हारका कारण रहेको बताएका छन् ।
यस्तै उनले झिनो मतले एउटा स्वतन्त्र उम्मेदवार हार्नु भनेको जित्नु बराबर भएको बताएका छन् । ‘किनभने दलीय व्यवस्थामा कुनै पार्टी र यसको छत्रछायाँमा नरही मतदान गर्न सक्ने युवाहरुको जमात हुनु भनेकै परिवर्तनको चाहना अहिलेको पुस्तामा छ भन्ने कुराको संकेत हो,’ उनले लेखेका छन् ।
जोशी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतले पराजित भएका हुन् । नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन् ।उनी १२ हजार ७८ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपमेयरमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरे।
कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।
‘जितको एउटा गुन्जायसले मात्रै पनि एउटा परिवर्तनका लागि केही गर्छु भन्ने एउटा मौका केही समयका लागि पर सारेको छ । केही छैन तपाईंको यो माया र विश्वासको अनादर गर्ने छैन,’ उनले भनेका छन्, ‘म व्यास नगरपालिकाप्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु । व्यास नगरवासीले गर्नुभएको मायाको सदैव ऋणी छु, जसलाई जीवनको अन्तिम समयसम्म चुकाउने भरमग्दुर प्रयास गर्नेछु ।’
साथै उनले आफूलाई मतदान गर्ने मतदाताहरूप्रति आभार पनि व्यक्त गरेका छन् ।