Latest News

काठमाडौं–११ पनि कांग्रेसले जित्यो, मेयरतर्फ कसले कति भोट पाए ?

Nepalese Times May 22, 2022 (1 Year ago)    1582 Views

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।

कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ वडा अध्यक्षमा विजयी भएका छन् । एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाएर दोस्रो भएका छन् । ।

यस्तै मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी १०९६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ९८२ र एमालेका केशव स्थापितले ६४८ मत पाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएको प्रतिक्रिया दिएका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको सोचेजस्तो नतिजा नआएपछि सत्ता गठबन्धन भने कायमै रहने उनले बताएका छन् ।

गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै उनले गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।

स्थानीय तहमा सोचेजस्तो नतिजा नआएकै कारण गठबन्धन नटुट्ने भन्दै उनले आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिनेगरी अघि बढ्ने बताए ।

यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर जितिसकेकोसमेत उनले बताए ।

एक महानगर र एक उपमहानगर आफ्नो पार्टीले जित्नु भनेको पनि गठबन्धनकै कारण भएको भन्दै उनले यसलाई एउटा उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् ।

प्रतिगमनका पक्षधरहरु अझै सल्बलाइरहेकाले सत्ता गठबन्धन अर्को निर्वाचनसम्म लैजानु आवश्यक रहेको भन्दै उनले मुलुकमा सात दलीय दक्षिणपन्थी अर्को गठबन्धन पनि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस