काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २५ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार राजेश डंगोलले एमालेका राजेश प्रसाद श्रेष्ठलाई पराजित गर्दै नयाँ वडाध्यक्ष बनेका हुन् ।
नतिजाअनुसार डंगोलले ९१२ भोट ल्याएर विजयी भएका छन् भने श्रेष्ठले ६४३ मत ल्याएर पराजय व्यहोरेका छन् । यस वडामा ४ हजार ३४१ भोट खसेको थियो । यो वडा जितेसँगै काठमाडौंका ९ वटा वडाहरू कांग्रेसको पोल्टामा गएका छन् ।
मेयरतर्फ भने यस वडामा एमालेका केशव स्थापितले सर्वाधिक मत ल्याएका छन् । उनले ९९० भोट ल्याए । दोस्रो सर्वाधिक भोट स्वतन्त्र उम्मेदवार सुमन सायमीले ल्याए । उनको चुनाव चिन्ह आँखीझ्यालमा ८८२ भोट खसेको छ ।
यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८८ भोट ल्याएर तेस्रो स्थानमा छिन् भन् स्वतन्त्र उम्मेदवार बालेन शाहले ७३० भोटका साथ चौथो स्थानमा छन् ।
यस्तै निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।
हालसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। कांग्रेसले प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको छ।
०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९२ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७१ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ। त्यसैगरी, ९५ उपप्रमुख १२२ उपाध्यक्ष जितेको छ।
नेकपा माओवादी केन्द्र पहिलाको भन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ। उसले २४ मा मेयर ९६ मा अध्यक्ष तथा ३२ उपप्रमुख र ९५ उपाध्यक्ष जितेको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले ५७ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्।
बाँकी ४० तहमध्ये एमाले १४, कांग्रेस-१०माओवादी र एकीकृत समाजवादी २ -२ स्थानमा र अन्यले १० स्थानमा अग्रता कायम राखेका छन्। दुई स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन।