Latest News

सिंहदरबारको बैठक सकियो, यी प्रस्तावित राजदूतको नाम अनुमोदन

Nepalese Times May 22, 2022 (2 Year ago)    549 Views

काठमाडौं । संसदीय सुनुवाई समितिबाट बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरुको नाम अनुमोदन भएको छ ।

आइतवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित त्रयराजदूत क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो।

नेपाल सरकारद्वारा बंगलादेश, म्यानमार, ओमानका लागि नेपाली राजदूतको पदमा नियुक्तिको लागि प्रस्तावित क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्य सञ्चालन नियमावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन भएको समितिका सभापति लक्ष्मणलाल कर्णले घोषणा गरे।

समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति व्यवस्थित गर्ने र त्यहाँ नेपालीहरुको समस्या समाधानमा केन्द्रित हुने बताएका थिए ।

त्यस्तै म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने बताए ।

प्रस्तावित राजदूत घिमिरेले बुद्धको ज्ञानको सन्देश प्रवाह गर्न म्यानमारमा बुद्ध सम्बन्धी विचार गोष्ठीको आयोजना गर्ने, बुद्ध र बौद्ध दर्शनलाई प्रवद्र्धन गरी धार्मिक पर्यटनको व्यवस्थापन र प्रवद्र्धन गर्न नेपाल–म्यानमार सामुहिक बौद्ध पर्यटन समितिको स्थापना गर्न पहल गर्ने पनि बताए।

ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौताहरु कार्यान्वयन गर्न विशेष पहल गर्ने बताए। उनले थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरूलाई अघि बढाउन र द्विपक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस