काठमाडौं । चितवनको भरतपुर महानरपालिकामा झण्डै १ लाख मत गनेर सकिएको छ । अब ३३ हजार ६०७ मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म झण्डै १ लाख मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हो । गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् ।
एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् । मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो ।
त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी थिइन् भने एमालेका देवी ज्ञवालीले १०३२ मत पाएका थिए ।