Latest News

भरतपुर महानगर : अघिल्लो चुनावमा मतपत्र च्यातिएको वडामा एमाले विजयी

Nepalese Times May 22, 2022 (2 Year ago)    571 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो ।

त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी थिइन् भने एमालेका देवी ज्ञवालीले १०३२ मत पाएका थिए ।

यस्तै वडातर्फ काँग्रेसका कर्ण बहादुर गुरुङ १४७८ मत पाएर विजयी भएका थिए । त्यतिबेला गुरुङसँग पराजित भएका प्रकाश तामाङ तामाङ आइतबार सम्पन्न भएको वडा नम्बर १९ को मतगणनामा विजयी भएका हुन् ।

एमाले पार्टी विभाजन पछि प्रकाश तामाङ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए । निर्वाचनको करिव एक महिनाअघि मात्र तामाङ एमाले प्रवेश गरेका थिए ।

तत्कालीन अवस्थामा माओवादी केन्द्रका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । सिवाकोटी अहिले माओवादी केन्द्र चितवनका सचिव छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन् ।

दाहालले ३६ हजार २७२ मत पाउँदा सुवेदीले २८ हजार ४१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस