काठमाडौं र अघिल्लो स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको विषय अझै पनि सेलाएको छैन । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा रहेको छ
तत्कालीन अवस्थामा मतपत्र च्यातेको आरोपमा द्रोण सिवाकोटी र मधु न्यौपाने समातिएका र्थि । पछि जिल्ला अदालतले उनीहरुलाई जनही १ लाख धरौटी रकममा रिहा गरेको थियो ।
यही प्रकरणले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को पुनः मतदान भएको थियो । यो प्रकरण सर्वोच्चमा पुगेपछि अन्तिममा वडा नम्बर १९ मा पुनः मतदान गराउने फैसला भएको थियो ।
त्यही अनुसार पुनः मतदान भएर रेनु दाहाल एमालेका देवी ज्ञवालीलाई हराउँदै मेयरमा विजयी भएकी थिइन् । अहिले सोही वडासहित वडा नम्बर १९ को मतगणना जारी रहेको हो । वडा नम्बर १९ मा कुल ३८४६ मतदातामध्ये २८४७ मत खसेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० को मतगणना अहिले चलिरहेको छ । ०७४ को निर्वाचनमा माओवादीले धाँधली गरेर चुनाव जितेको आरोप लागेपनि यसपटक दाहालको राम्रो मतान्तर रहेको छ ।
५ वर्षको बिचमा उनले जनमत बढाएको मतपरिणामले देखाएको छ । हालसम्म भरतपुर महानगरपालिकामा ९२ हजार ७२८ मतगणना हुँदा रेनुले ७९०७ को मतान्तर बनाएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाहालले ३६ हजार ५३० मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ६२३ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले भारी मतका साथ अग्रता बनाएका छन् ।
यस्तै स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७०३ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ। हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ। मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।