काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि पुगेको थियो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको छ ।
यस्तै अमेरिकी उपमन्त्री तथा तिब्बत मामिलासम्बन्धि विशेष संयोजक उज्रा जोयाको नेपाल भ्रमणप्रति चीनले चासो व्यक्त गरेको छ। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री जोया सन् २०१३ पछि नेपाल भ्रमण गर्ने तिब्बत मामिला हेर्ने उच्च अधिकारी हुन्।
जोया भारत भ्रमण सकेर नेपाल आइपुगेकी हुन् र उनले भारत भ्रमणका क्रममा धर्मशाला पुगेर दलाई लामासँग भेट गरेकी थिइन्। जोयाको यस भ्रमणप्रति चिनियाँ विदेश मन्त्रालयले चासो व्यक्त गरेको हो।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले निर्वासित तिब्बती सरकार पृथकतावादी राजनीतिक समूह तथा अवैध संगठन भएकोसमेत दाबी गरेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकालाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नसमेत चेतावनी दिएका छन्।
चाइना डेलीका पत्रकारले अमेरिकी उपमन्त्री तथा तिब्बत मामिला विशेष संयोजकको भ्रमण र भेटघाटका विषयमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता लिजियानले भने, ‘तिब्बत चीनको एक हिस्सा हो भन्ने कुराको प्रतिबद्धतालाई अमेरिकाले सम्मान गर्नुपर्छ।’
निर्वासनमा रहेको भनिएको कथित तिब्बत सरकार एक बाहिरी पृथकतावादी राजनीतिक समूह भएको पनि उनले टिप्पणी गरेका छन्।