Latest News

भरतपुरमा ३७ हजार मत गन्न बाँकि, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 22, 2022 (2 Year ago)    692 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा हालसम्म ९० हजार ३ सय ८ मत गनेर सकिएको छ ।

पछिल्लो गणना अनुसार सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्।

उनले एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्।

उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले २२०५६ मत पाएकी छन्। अब चितवनमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ।

स्थानीय निर्वाचनको मतगणना अन्तिमतिर आइपुगेको छ। निर्वाचन आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार हाल सम्म ७ सय पालिकाको मतगणना सम्पन्न भएर मतपरिणाम पनि निर्वाचन आयोगको डेटामा प्रविष्ट भइसकेको छ।

५१ स्थानीय तहको भने मतगणना जारी छ। बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना शुरू भएको छैन।

प्रतिक्रिया दिनुहोस