Latest News

भरतपुर महानगर : ८० हजार मत गनेर सकिँदा यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 21, 2022 (2 Year ago)    844 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाएकी छिन् । नेकपा एमालेका विजय सुवेदीलाई ६ हजार ५४० मतान्तरले पछि पार्दै रेनुले मतान्तर बढाउँदै लगेकी हुन् ।

हालसम्म ८० हजार मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार १२२ मत र नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३३ हजार ५३१ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले १९ हजार १०४ मत प्राप्त गरेकी छन् ।

कांग्रेसका अधिकारी राप्रपाकी गुरुङ भन्दा १४ हजार ४२७ मतले अगाडि रहेका छन् । हालसम्म भरतपुर महानगरको वडा नम्बर १ देखि १४ सम्मको मत गणना भइसकेको छ, भने पछिल्लो समय वडा नम्बर १५ र १६ को मत गणना भइरहेको छ ।

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा नौ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस