Latest News

बालेनको मत ३३ हजार कट्यो, केशव र सिर्जनाको मतान्तर कति ?

Nepalese Times May 21, 2022 (2 Year ago)    715 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह दोब्बर मतान्तरले अगाडि बढेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका सिर्जना सिंहलाई बालेनले १५ हजारभन्दा बढी मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।

९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो ।

शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् । यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।

नतिजाअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जितको संख्या ३ सतक कटाइसकेको छ । आइतबार बिहानसम्म काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सतक कटाएको हो ।

यस्तै एमाले दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ । बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ मा जित हासिल गरेको छ। माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी ११७ वटा पालिका जितेको छ।

एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ। राप्रपाले ५ वटा पालिका जितेको छ। स्वतन्त्र तथा अन्य दलले ५० वटा पालिका जितेका छन्।

मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले २३ पालिकामा अग्रता बनाएको छ। एमाले १९ पालिकामा अघि छ। माओवादी ४, एकीकृत समाजवादी २, जसपा ४ पालिकामा अगाडि छन्। स्वतन्त्र र अन्य दलको १५ पालिकामा अग्रता राखेका छन्।

७५३ पालिकामध्ये १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६८२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ। अहिलेसम्म सबै पालिकाको मतपरिणाम कर्णाली प्रदेशको मात्रै आएको छ। मधेस प्रदेशमा धेरै पालिकामा मतपरिणाम आउन बाँकी छन्।

 

 

प्रतिक्रिया दिनुहोस