काठमाडौं । ललितपुर महानगरपालिकामा ४१ हजार ३८८ मत गनेर सकिंदा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता थपेका छन् ।
उनी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजार भन्दा बढी मत अन्तरले अघि छन् । उनले सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका हुन् ।
निवर्तमान मेयरसमेत रहेका महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायमै छ । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्य भन्दा ३ हजार ५३९ मत अन्तरले अगाडि छिन् । मञ्जलीले ११ हजार ९६५ मत पाउँदा बाबुराजको मत ८ हजार ४२६ मात्र छ ।
उपमेयरका अर्का उम्मेदवार स्वर्णिम शाक्यको पक्षमा ३ हजार ३७९ मत परेको छ । नेपाली कांग्रेसको उपमेयर उमेदवार नै नभएको रुख चिह्नमा ५ हजार ८०० मत परेको छ ।
अहिलेसम्म ६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको हो ।
अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।
यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ ।a
यस्तै, एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।
नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।
माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८२ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।