Latest News

उपमहानगरमा माओवादीले पनि खाता खोल्यो, पौडेल विजयी

Nepalese Times May 19, 2022 (2 Year ago)    601 Views

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् ।

पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् ।

०७४ सालको स्थानीय निर्वाचनमा उपमहानगरपालिका निल भएको माओवादी केन्द्र २०७९ सालमा आइपुग्दा ऐतिहासिक जित दर्ता गर्दै उपमहानगरपालिकामा खाता खोल्न सफल भएको छ ।

राजन पौडेल दोस्रो प्रयासमा मेयरमा निर्वाचित बन्न सफल भएका हुन् । २०७४ को स्थानीय तह चुनावमा पार्टीको तर्फबाट उनी जीतपुरसिमरा उपमहानगरमा मेयरको उम्मेदवार भएका थिए ।

त्यतिबेला जीतपुरसिमरा उपमहानगरमा १२२ जना निर्वाचित जनप्रतिनिधि मध्ये ४५ जना माओवादी केन्द्रबाट निर्वाचित भएपनि उनी भने पराजित बन्न पुगे । ०७४ मा चुनाव हारेपछिको ५ वर्षको अवधिमा कमजोर ठाउँहरुमा संगठन विस्तार गरेको उनको भनाइ छ ।

यस्तै माओवादी केन्द्रीय सदस्य एवम् सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटाले एमालेका इन्द्रबहादुर नेपाललाई फराकिलो मतान्तरमा हराउदै चौतारा साँगाचौकगढी नगरपालिकाको मेयरमा विजयी भएका छन् ।

उपमेयरमा समाजवादीकी सीता थापाले एमालेकी बालकुमारी सापकोटालाई हराउदै जित हाँसिल गरेकी छन् । सापकोटाले ११ हजार ७२ मत प्राप्त गरे भने उनका प्रत्यासी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७११ मत ल्याए ।

त्यसैगरी उपमेयरमा समाजवादीकी सीता थापाले ९ हजार ७२६ मत ल्याउदा उनका प्रत्यासी एमालेकी बालकुमारी सापकोटाले ७ हजार ५११ मत ल्याइन् ।

उपमेयरमा निर्वाचीत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उपमेयरको प्रत्यासी थिइन भने एमालेकी बालकुमारी सापकोटा जिल्ला समन्वय समितिकी उपप्रमुख थिइन् ।

यस्तै तनहुँको आबुखैरेनी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका शुक्र चुमान ३ हजार ९ सय ४० मत ल्याउँदै गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस