Latest News

सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगर एमालेले जित्यो, कसले कति मत ल्याए ?

Nepalese Times May 19, 2022 (2 Year ago)    740 Views

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका नेकपा एमालेले जितेको छ । मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित भएका हुन् ।

गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३३० मतले हराउदै उनी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत पाएका छन् । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले पराजित गरेका थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गरे ।

डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । नगरउपप्रमुखमा पनि सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पारेका थिए ।तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि परेका हुन् । डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएन । अन्तिम मत परिणाम सार्वजनिक हुनु अघिसम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

अहिलेसम्म ५३५ स्थानीय तहको नजिता सार्वजनिक भएको छ । नतिजा अनुसामर कांग्रेस २४३, एमाले १५५ र माओवादी केन्द्र १०२ पालिकामा विजयी भएका छन् ।  सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ।एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ भने २० पालिकामा उसले अग्रता कायम राखेको छ। अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस