Latest News

महानगरको मतगणना चल्दा चल्दै एमालेले लगायो नाराबाजी, मतगणना स्थगित

Nepalese Times May 18, 2022 (2 Year ago)    894 Views

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ ।

गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

पोखरा महानगरमा बुधबार दिउँसोसम्म ३६ हजार ८ सय १३ मत गणना गर्दा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले निरन्तर अग्रता बनाइरहेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार आचार्यले एमालेका कृष्णबहादुर थापालाई १ हजार ९ सय ५९ मतले पछि पारेका छन् । आचार्यले १५ हजार २ सय ८८ र थापाले १३ हजार ३ सय २९ मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो मतले अग्रता जारी राखेकी छन् । उनको १५ हजार ५ सय २५ मत आउँदा एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छन् । मेयरमा राप्रपाका शंकर खरालले १ हजार ५ सय ५६ मत प्राप्त गर्दा अटेरी समूहका स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ८ सय ६६ मत ल्याएका छन् ।

पोखरामा यसअघि जितेका वडा समेत एमालेले गुमाउँदै गएको छ । हालसम्म एमालेले वडा १ र ५ मात्रै जितेको छ । कांग्रेसले वडा २, ३, ४, १२, १३, २३, २४ र २६ जितेको छ । गणना भइरहेका वडा ७, २० र २५ मा कांग्रेसको अग्रता छ । यीमध्ये वडा १, ५, १३, २०, २४, २५, २६ यसअघिको चुनावमा एमालेले जितेको वडा हुन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मत गणनाको क्रम चलिरहेको छ । अहिलेसम्म ७ सय ५३ पालिकामध्ये ६० प्रतिशत अर्थात ४५० भन्दा धेरै पालिकाको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ४७ प्रतिशत पालिकामा जित हात पारेको छ। २१० पालिकामा कांग्रेसले जित हात पारेको हो ।यस्तै नेकपा एमालेले १३२ पालिकामा जित हात पारेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९३ पालिकामा जित हाँसिल गरेको छ ।

यस्तै जनता समाजवादी पार्टीले ८ पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले ७ पालिकामा प्रमुख पदमा विजयी भएको छ। यस्तै स्वतन्त्र ६, नेमकिपा, राजमो ३, राप्रपाले २ र जनमत पार्टीले १ पालिकामा जित हात पारेको छ।

यस्तै देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् ।निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार हालसम्म ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भैसकेको छन् ।

जसमा सवैभन्दा धेरै नेपाली काँग्रेसका १ हजार ९ सय ६२ जना र एमालेका १ हजार ५ सय २२ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८२७, जनता समाजवादीबाट १४७ र स्वतन्त्रसहित अन्यमा ४०९ जना वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । कुल वडाध्यक्षमध्ये निर्वाचित भएका घटाउँदा १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस