Latest News

भरतपुर महानगर : जगन्नाथको वडामा मतगणना चल्दै, यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 18, 2022 (2 Year ago)    1164 Views

चितवन । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको वडामा मतगणना भइरहेको छ । अहिलेसम्म २८६४३ मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि आएकी छिन् ।

अहिले १ देखि ६ सम्म सकेर अहिले पौडेलको वडामा गन्न सुरू गरिएको छ । जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले १० हजार मत पार गरेकी छिन् ।

रेणुले १० हजार ४ सय ४९ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पौडेलले ४ हजार ६ सय ९६ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४ सय ९६ र राप्रपाकी हिमला गुरुङले ६ हजार ९ सय ९२ मत प्राप्त गरेकी छिन् ।

सो वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एसका उम्मेदवारले वडा अध्यक्षमा ४ सय ९३ मत ल्याउँदा एमालेका उम्मेदवारले ४ सय मत ल्याएका छन् ।

यस्तै देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ ।

नेपाली कांग्रेसले हालसम्म २०४ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा विजय हात पारिसकेको छ । मतगणना सकिएकामध्ये ४५.९५ प्रतिशत पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित हुने दोस्रो ठूलो संख्या नेकपा एमालेका उम्मेदवारको छ । एमालेका उम्मेदवार हालसम्म १२८ स्थानमा विजय भइसकेका छन् । यो भनेको मतगणना सकिएका पालिकामध्ये २८.८२ प्रतिशत हो ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले हालसम्म ८६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्न सफल भएको छ । हालसम्म मतगणना सकिएकामध्ये १९.३६ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हालसम्म ७ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा निर्वाचित भएका छन् । मतगणना सकिएका कूल पालिकामध्ये १.५७ प्रतिशतमा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पद जितेको छ । यो भनेको मतगणना सएिकामध्ये १.१२ प्रतिशत पालिका हो । अन्य दल र स्वतन्त्र उम्मेदवारले १४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सकिएकामध्ये ३.१५ प्रतिशत पालिका प्रमुख तथा अध्यक्षमा अन्य र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले भने हालसम्म एउटा पालिकाको पनि प्रमुख तथा अध्यक्ष जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस