Latest News

४०५ पालिकाको मत परिणाम सार्वजनिक, कसले कति पालिका जिते ?

Nepalese Times May 18, 2022 (2 Year ago)    815 Views

काठमाडौं । देशभरका ७५३ मध्ये अहिलेसम्म ४०५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आधाभन्दा बढी पालिकाको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी) ले ६, जनता समाजवादी पार्टीले ५ स्थान जित्दा अन्यले १२ पालिकामा जित हासिल गरेका छन् । गणना बाँकी रहेका पालिकाहरुमा ठूला दलहरुले नै अग्रता लिइरहेका छन् ।

कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदान भएको थियो ।

यस्तै चितवनको भरतपुर नगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले एमालेका विजय सुवेदीलाई एक हजारभन्दा बढी भोटले पछि पारेकी छन् । २५, ३५८ भोट गणना हुँदा रेनुले ९०११ भोट पाएकी छन् भने विजयले ७८९२ भोट प्राप्त गरेका छन् ।

उनीहरुबीच १११९ भोटको अन्तर छ । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४११२ भोट ल्याएका छन् ।

अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । वडाको ३५०२ भोट गन्दा गठबन्धनका वडाध्यक्ष उम्मेदवारले १५८९ भोट पाएका छन् भने एमालेका उम्मेदवारले १४५४ भोट ल्याएका छन् ।

यस्तै काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार भोट कटाएका छन् । ३९,५२० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित ८, २८८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७, २९० भोट ल्याएकी छन् । काठमाडौंमा वडा नम्बर पाँचको मतगणना सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस