Latest News

झलनाथ खनालको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादी पराजित, एमाले विजयी

Nepalese Times May 17, 2022 (2 Year ago)    694 Views

इलाम । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा नेकपा एमाले विजयी भएको छ ।इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीत बहादुर राई उम्मेदवार बनेका थिए । उनी नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका हुन् ।

थेबेले पाँच हजार १५३ मत प्राप्त गर्दा राईले चार हजार ९१३ मत पाएका छन् । राईले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका थिए । एमाले विभाजन पछि उनी नेकपा एसमा लागेका थिए ।

उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी प्रविना राई निर्वाचित भएकी छिन् । उनले एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई पराजित गरिन् ।

राईले पाँच हजार १५९ मत पाउँदा भट्टराईले भने चार हजार ८८३ मत पाएकी छिन् । भट्टराईले पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी थिइन् ।

माइजोगमाई गाउँपालिका ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेश सोङ्मी लिम्बु निर्वाचित भएका छन् । उनले ७५० मत पाउँदा काँग्रेसका भोगेन्द्र थेवेले ६८१ मत पाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपा विजयी भएको छ । सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विजयी भएका हुन् ।

राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो । राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस