Latest News

प्रकाशमान सिंहको क्षेत्रमा पनि मतगणना चल्दै, को अगाडि ?

Nepalese Times May 17, 2022 (2 Year ago)    1136 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मतगणना भइरहेको छ ।

यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।

प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दोस्रोमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।

उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डंगोल नै अगाडि छन् । उनले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० को मतगणना चलिरहेको छ । थापाको वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ ।  अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।

काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएकामध्ये १९ उम्मेदारले हालसम्म एक मत पनि पाउन सकेका छैनन् । यसरी शून्य मत ल्याउनेमा चुनाव चिह्नहरु कलमको फूल, ब्याडमिन्टन कर्क, हाँस, सेफ्टी पिन, बिरालो, प्रेसर कुकर, चुलेसी, भ्यागुतो, कक प्लेट, ठेकी, जोडी कमबुट, भालु, घण्टाघर, कंगारु, फ्रक, चौबन्दी चोलो, खसीको टाउको, बदेल र ग्यास सिलिन्डर भएका पाएका उम्मेदवारहरु रहेका छन् ।

यस्तै एक मत मात्रै ल्याउने उम्मेदवार पनि उल्लेख्य देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मध्याह्न सार्वजनिक गरेको विवरण अनुसार वडा नम्बर १,२,३,४,५,६, ३१ र ३२ को मतगणना गर्दा यस्तो तथ्य देखिएको हो । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा गत शनिबारदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस