Latest News

आफ्नै वडामा बालेनले अग्रता लिएपछि गगन थापाले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 17, 2022 (2 Year ago)    1441 Views

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएको छ । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।

आफ्नै वडामा बालेनले अग्रता लिएपछि गगन थापाले काठमाडौं महानगरपालिकाको मतगणनालाई नजिकबाट हेरिरहेको बताएका छन्। अघिल्लो चुनावमा रञ्जु दर्शना र किशोर थापाले पाएको मतको संकेतअनुसार हामीले पार्टीगत रूपमा जुन सुधार गर्नुपर्थ्यो, त्यो गरेनौं। काठमाडौंका मतदातालाई जुन भरोसा दिलाउन सक्नुपर्थ्यो, त्यो दिलाउन सकेनौं। हामीले जसरी आफूलाई प्रस्तुत गर्नुपर्थ्यो, त्यसरी प्रस्तुत हुन सकेनौं। त्यहि भएर अहिलेको नतिजा हामीले स्वीकार्नु पर्ने बताए।

‘बालेनको मतपरिणामले जहाँसम्म मतदाताले राजनीतिक दलप्रति देखाएको प्रतिक्रिया मान्ने कुरा छ, निर्वाचन परिणामले दिने संकेतलाई राजनीतिक दलहरूले बुझ्यो, त्यसअनुसार काम गर्‍यो र सुधार गर्‍यो भने त्यसले दलहरूलाई नै फाइदा हुन्छ। हामी जनताले दिएको सन्देश बुझेर आफूलाई सच्याउने प्रयास गर्छौं।’ उनले भने।

बालेन शाहले जिते भने राजनीतिक दलले सहयोग गर्दैनन् भन्ने जुन सवाल छ, त्यस्तो चाहिँ हुँदैन। म काठमाडौंको सांसद हुँ। गएको पाँच वर्ष मैले काठमाडौंको निर्वाचित नगरप्रमुखसँग स्वास्थ्य र पूर्वाधार विकासमा साझेदारी गरेरै काम गर्न खोजेको थिएँ। साझेदारी गरेर काम गर्ने त हाम्रो पनि चाहना हुन्छ, आवश्यकता पनि हुन्छ। त्यसैअनुसार म एमालेसँग साझेदारी गर्न गएको हुँ। चाहे त्यो कोभिड महामारी बेला होस् वा काठमाडौंको स्वास्थ्य प्रणाली सुधार गर्ने विषय लिएर होस्, म काठमाडौंको सांसदका रूपमा विद्यासुन्दर शाक्यकहाँ सहकार्य निम्ति गएकै हो। तर दुर्भाग्यवश हामीले ठाउँ पाएनौं।

म काठमाडौंको सांसदका हिसाबले यहाँको स्थानीय तहमा निर्वाचित भएर आउने जोसुकै जनप्रतिनिधि वा अहिलेकै ट्रेन्ड हेर्दा बालेन शाह निर्वाचित भएर आए पनि साझेदारीमै काम गर्न चाहन्छु। सँगै काम गरौं, परिणाम दिऊँ भन्ने नै हाम्रो मनसाय हुन्छ।

काठमाडौं लगायत कतिपय ठाउँका मतदाताले दिएको सुधारको सन्देशलाई भने अब राजनीतिक दलहरूले सुन्नुपर्छ। कांग्रेसले त झन् नसुनी हुन्न। मतदाताले सुधार गरेर अघि बढ्न कांग्रेसलाई दबाब दिएका छन्।

कांग्रेसले तत्कालै गर्नुपर्ने सुधार भनेको उम्मेदवारी चयन प्रक्रियामा हो। चुनावमा देशभरि हुने पार्टीगत अन्तरघातको समस्या सल्टाउने गरी उम्मेदवारी चयनको परिपाटी बदल्नुपर्छ कि भन्ने सामान्य छलफल भइरहेको थियो। हामीकहाँ उम्मेदवारका आकांक्षी असाध्यै धेरै हुन्छन्। अन्तिममा एउटा त छान्नैपर्छ। मैले गरे पनि, जसले गरे पनि उम्मेदवार चयनमा असन्तुष्टि हुन्छ नै। त्यो असन्तुष्टिले उम्मेदवारलाई असहयोग गर्ने रोग छ। यो झन् गहिरो हुँदै गयो।

आजसम्मको प्रक्रियामा उम्मेदवारी छान्ने बेला जनताको जुन चाहना छ, त्यो हामीकहाँ आइपुग्दैन। हामी बन्द कोठामा बसेर उम्मेदवार छान्छौं। यो बदलेर अझै खुला, अझै पारदर्शी र अझै सहभागितामूलक बनाउनुपर्ने छ। यसका दुई-तीन तरिका छन्।

एउटा तरिका भनेको आमसदस्यमाझ इच्छुकमध्ये एउटा उम्मेदवार छान्न मतदान गराउने हो। सदस्य र बाहिरका मान्छेलाई समेत उम्मेदवार छान्न दिने कि भन्ने कुरा पनि छ।यस्ता तरिकाहरूमा सामान्य छलफल सुरू भएको भए पनि काठमाडौं लगायत ठाउँमा आएको मतपरिणामले त्यसलाई गति दिन्छ कि भन्ने मलाई लागेको छ। यो पनि सकारात्मक कुरा हो।

प्रतिक्रिया दिनुहोस