Latest News

माधव नेपालको क्षेत्र काठमाडौंमै राप्रपाले गाड्यो विजयको झण्डा, गठबन्धनलाई हराउँदै रमेश विजयी

Nepalese Times May 17, 2022 (2 Year ago)    1601 Views

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपा विजयी भएको छ । सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विजयी भएका हुन् ।

राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो । राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । यो क्षेत्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको क्षेत्र हो ।

उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

यस्तै स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका ३२५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ।

३२५ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा एमालेले एकसय स्थानीय तहमा जित निकालेको छ। कांग्रेस एमालेको भन्दा ४० वटा बढी स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म एक सय ४० स्थानीय तह जितेको छ।

अग्रता पनि कांग्रेसकै बढी छ। कांग्रेस मतगणना चलिरहेका १७० स्थानीय तहमा अगाडि छ भने एमाले १०१ स्थानीय तहमा अगाडि छ। अहिलेसम्म ७० स्थानीय तह जितेको माओवादी केन्द्र ४६ स्थानीय तहमा अगाडि छ।

चार स्थानीय तहमा विजयी भएको नेकपा एकीकृत समाजवादी १७ पालिकामा अगाडि छ भने ३ स्थानीय तहमा विजयी भएको जसपा २९ स्थानीय तहमा अघि छ। त्यसैगरी स्वतन्त्र उम्मेदवारले अहिलेसम्म ४ स्थानीय तह जितेका छन्।

मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिकासहितका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार अघि छन्। अहिलेसम्म एउटा पनि स्थानीय तह जित्न नसकेको लोसपा मतगणना चलिरहेका तराई मधेशका १० स्थानीय तहमा अगाडि छ।

प्रतिक्रिया दिनुहोस