Latest News

भरतपुरमा साढे १८ हजार मत गनेर सकियो, यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 17, 2022 (2 Year ago)    777 Views

काठमाडौ ।भरतपुर महानगरपालिकामा १८ हजार ६८३ मत गनेर सकिएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १०९ मतको अग्रता लिएकी छन् ।

१८ हजार ६८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २४९ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन् । उप मेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६११ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

अहिलेसम्म २४७ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमध्ये ११५ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।

कांग्रेसले परिणाम आएकामध्ये ४६ दशमलव ५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ६४ स्थानीय तहमा नेतृत्व जितेको छ । एमालेले परिणाम आएका मध्ये २५ प्रतिशत पालिकाको नेतृत्व जितेको छ ।

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ५३ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा नेतृत्व लिएको छ । त्यस्तै पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् । जसपाले ३ पालिका जित्दा नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकाको नेतृत्व जितेका छन् ।

प्रतिक्रिया दिनुहोस