Latest News

यस्तो आयो भरतपुर महानगरको पछिल्लो मत परिणाम

Nepalese Times May 17, 2022 (2 Year ago)    967 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् ।

उनी र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।

दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिएकी छिन् भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरेका छन् । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गरेका छन् ।

आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी भएका छन् ।

एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन् । वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

अहिलेसम्म २४७ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमध्ये ११५ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।

कांग्रेसले परिणाम आएकामध्ये ४६ दशमलव ५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ६४ स्थानीय तहमा नेतृत्व जितेको छ । एमालेले परिणाम आएका मध्ये २५ प्रतिशत पालिकाको नेतृत्व जितेको छ ।

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ५३ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा नेतृत्व लिएको छ । त्यस्तै पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् । जसपाले ३ पालिका जित्दा नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकाको नेतृत्व जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस