काठमाडौं । मत गणनाका क्रममा विवत बढेपछि चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । मतगणनास्थलमा बसेका उम्मेदवारका प्रतिनिधिबीच मत सदर वा बदरबारे विवाद भएपछि मतगणना स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
यसअघि सोमबार साँझ पनि मत गणनाका विषयमा प्रमुख जिल्ला अधिकारी र कर्मचारीबीच विवाद भएपछि मत गणना केहीबेर स्थगित भएको थियो ।
त्यसपछि सुरु भएको गणना पनि राति करिब साढे १२ बजेपछि स्थगित भएको हो । अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।
यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । उनले ७ हजार भन्दा धेरै भोट पाइसकेका छन् ।
निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेनले ७०८९ मच प्राप्त गरेका छन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशब स्थापितले ३ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले केशव स्थापितलाई पछ्याइरहेकी छिन् ।