Latest News

भरतपुरमा १६ हजारभन्दा धेरै मत गनेर सकियो, यस्तो छ कडा टक्कर

Nepalese Times May 16, 2022 (2 Year ago)    1157 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन् ।

उनले १८ मतको अग्रता लिएकी हन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन्। यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एउटै वडामा हजार बढी मत ल्याएका छन्। वडा नम्बर ४ को करिब एक हजार मत गन्न बाँकी रहँदा उनले आफ्नो भोट हजार कटाएका हुन्।

पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, २ बाट ४ सय ९४, ३ बाट ६ सय ४८ मत ल्याएका थिए। उनले वडा नम्बर ४ को गणना भइरहँदा मत २ हजार ५ सय ५८ प‍ुर्‍याएका हुन्। यसपछिका वडाहरूमा पनि राम्रो मत आउने आँकलन गरिएको पौडेलका सहयोगी कृष्ण रेग्मीले बताए।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । उनले ७ हजार भन्दा धेरै भोट पाइसकेका छन् ।

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेनले ७०८९ मच प्राप्त गरेका छन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशब स्थापितले ३ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले केशव स्थापितलाई पछ्याइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस