Latest News

जगन्नाथले एउटै वडाबाट ह्वात्तै बढाए आफ्नो भोट, विजय र रेनुको कति ?

Nepalese Times May 16, 2022 (2 Year ago)    1554 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मत परिणाम निक्कै रोचक मोडमा पुगेको छ । पछिल्लो मत परिणाम अनुसार भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एउटै वडामा हजार बढी मत ल्याएका छन्।

वडा नम्बर ४ को करिब एक हजार मत गन्न बाँकी रहँदा उनले आफ्नो भोट हजार कटाएका हुन्। पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, २ बाट ४ सय ९४, ३ बाट ६ सय ४८ मत ल्याएका थिए। उनले वडा नम्बर ४ को गणना भइरहँदा मत २ हजार ५ सय ७२ प‍ुर्‍याएका हुन्।

यो वडामा ९ हजार २ सय १० मतदातामा ५ हजार ९ सय २ जनाले मात्रै मतदान गरेका थिए। यो पौडेलको मेयर बन्ने प्रस्तावमा समर्थन गरेकी मिना खरेलको वडा हो। कांग्रेसकी महासमिति सदस्य उनलाई पार्टीले साधारण सदस्यबाटै निष्काशन गरेको थियो।

यसपछिका वडाहरूमा पनि राम्रो मत आउने आँकलन गरिएको पौडेलका सहयोगी कृष्ण रेग्मीले बताए। अहिलेसम्म भरतपुर महानगरमा १५९३३ म गणना भएको छ।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी रेनु दाहाल ५३१३ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५३१० मत ल्याएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६४०२ र राप्रपाकी हिमला गुरूङले ४२९८ मत पाएका छन्।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । उनले ७ हजार भन्दा धेरै भोट पाइसकेका छन् ।

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेनले ७०८९ मच प्राप्त गरेका छन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशब स्थापितले ३ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले केशव स्थापितलाई पछ्याइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस