Latest News

भरतपुरमा विजय सुवेदीले फेरि मत बढाए, यस्तो छ कडा टक्कर

Nepalese Times May 16, 2022 (2 Year ago)    998 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मत गणना स्थल रोचक बन्दै गएको छ । नेकपा राप्रपा–एमाले गठबन्धनका एमाले उम्मेदवार विजय सुवेली र सत्ता गठबन्धनबाट माओवादीकी रेनु दाहालको मत धेरै अन्तर नभएकोले मत गणनास्थल रोचक बन्दै गएको हो ।

सुवेदी र रेनुबीच थोरै मतले मात्रै अघि पछि भइरहेका छन् । पछिल्लो मतगणना अनुसार माओवादी केन्द्रकी दाहाल थोरै मतले मात्रै अगाडि छिन् । फेरि उनलाई उछिन्ने दाउमा एमालेका सुवेदी रहेका छन् ।

सुवेदीले मत बढाउँदै लगेका छन् । सुवेदीले दाहाललाई पछि पार्न अब १० मत मात्रै भए पुग्छ । १५ हजार ७ सय ३३ मत गणनामा सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादीकी रेनु दाहालले ५२५३ मत ल्याएर अग्रता लिइरहेकी छन्।

उनलाई राप्रपा–एमाले गठबन्धनका एमाले उम्मेदवार विजय सुवेदीले ५२४३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५०१ मत पाएका छन्।

उपमेयरतर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रशेन अधिकारीले ६३२७ मत ल्याएर अग्रता कायमै राख्दा एमाले राप्रपाका साझा उम्मेदवार हिमला गुरूङले ४२४४ मत ल्याएर पछ्याइरहेकी छन्।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन शाहले निरन्तर अग्रता कायम गरेका छन् । उनले ७ हजार भन्दा धेरै भोट पाइसकेका छन् ।

निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेनले ७०८९ मच प्राप्त गरेका छन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका केशब स्थापितले ३ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार सिर्जना सिंहले केशव स्थापितलाई पछ्याइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस