Latest News

भरतपुर महानगरमा १४ हजार मत गनेर सकियो, कसले कति मत पाए ?

Nepalese Times May 16, 2022 (2 Year ago)    1146 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका लागि अहिलेसम्म १३ हजार ९ सय ३० मत गनेर सकिएको छ । अहिले पनि मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । उनले ४ हजार ७ सय २७ मत पाएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ भोट पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २११४ मत पाएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५ हजार ५ सय ५७ मत पाएका छन् भने राप्रपाका हिमाल गुरुङले ३ हजार ७ सय ६४ मत पाएका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतको अग्रता हासिल गरेका छन् । मतगणनामा बालेनले ३८३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १९९६ मत ल्याएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका बालेनले क्रमशः अन्तर बढाइरहेका छन् । तेस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छिन् । अहिले काठमाडौंको १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।

काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस