Latest News

५ दलीय गठबन्धनलाई पराजित गर्दै एमालेका अर्याल १ मतले विजयी

Nepalese Times May 16, 2022 (2 Year ago)    803 Views

अर्घाखाँची । मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्ष पदमा एमालेका नारायणप्रसाद अर्याल १ मत बढी ल्याएर विजयी भएका छन् । निकटम प्रतिस्पर्धी ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार उदयबहादुर पुन मगरलाई एक मतान्तरले पराजित गरेका हुन् ।

प्राप्त अन्तिम मतपरिणाम अनुसार अर्यालले ८ सय ४९ मत ल्याएर विजयी भए भने पुनले ८ सय ४८ मत ल्याए । सुरुदेखि नै निरन्तर मत बराबर भएपछि पटक पटक पुन: मतगणना गर्दा पछिल्लो मत परिणाममा अर्यालको एक मत बढी आएपछि निर्वाचित भएको घोषणा गरिएको मालारानी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रमेश पन्थीले बताए । अर्याल दोस्रो पटक अध्यक्षमा विजयी भएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुँदा नेता टोपबहादुर रायमाझी केपी ओलीतिर लागेपछि अर्याल पनि एमालेमा समायोजन भएका थिए । उनै अर्याललाई एमालेले अध्यक्षको उम्मेदवार बनाएको थियो ।

नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ। यो वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले लामिछानेलाई ६ सय बढी मतअन्तरले हराए।

यो वडामा कांग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठूलो विवाद भएको थियो। वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई वडाध्यक्षमा सिफारिस गरे पनि क्षेत्रीय समितिले उनलाई अस्वीकार गरेको थियो।

क्षेत्रीय समितिका सभापति लामिछानेले आफैं वडाध्यक्षको उम्मेदवार बनेका थिए। त्यसपछि पण्डितले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

निर्वाचनको केही दिनअघिमात्रै पण्डितले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। सहमतिमा उनी पछाडि हटे पनि मतपत्रमा भने सहमतिको प्रभाव देखिएन। यो वडामा मेयर पदका कांग्रेसका बागी जगन्नाथ पौडेलले ६४८ भोट ल्याए। यो यहाँ खसेको कुल मतको २० प्रतिशत हो।

यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र रेनु दहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याएका छन्।

चितवनमै कांग्रेसको सुरक्षित वडामध्ये पर्ने सो वडा कांग्रेसको आन्तरिक विवादकै कारण एमालेले जित्न सफल भएको हो । कांग्रेसको वडा समितिले सभापति चन्द्रमित्र पण्डितलाई वडा अध्यक्षका लागि एकल सिफारिस गरेको थियो । यद्यपि क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले क्षेत्रीय सभापति भरत लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गर्यो । वडा र क्षेत्रबीच टकराव बढेपछि कांग्रेसको वडा सभापति रहेका पण्डितले पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए ।

पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभाका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका बेला सो वडाको विवाद सुल्झाउन प्रयत्न गरेका थिए । मतदानअघि पण्डितले उम्मेदवारी फिर्ता लिए पनि परिणाममा त्यसले फरक पारेन । हारको मुख्य कारण अन्तर्घात भएको क्षेत्रीय समितिका नेताहरु बताउँछन् । वडाका कार्यकर्ताहरु भने उम्मेदवार छनोटमै कमजोरी भएकाले अन्तर्घात स्वाभाविक रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस