काठमाडौं । चितवनकाने भरतपुर महानगरपालिकामा कसले बाजी मार्ला भन्ने आम चासो बढिरहेको छ । यो महानगरपालिकामा सुरुदेखि नै नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालबीच कडा टक्कर भइरहेको छ ।
कहिले रेनु त कहिले सुवेदी अगाडि–पछाडि भइरहेका छन् । अहिलेसम्म यो महानगरपालिकामा ९ हजार ३ सय ७० मत गणना सम्पन्न भएको छ । आइतबार बेलुकासम्ममा रेनु दाहाल अगाडि भएपनि अहिले विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् ।
विजय सुवेदीले अग्रता कायम गरेको भएपनि अहिले फेरि रेनु दाहालको मत बढ्न थालेकोले रेनु दाहालले अग्रता कायम गर्न सक्ने आँकलन सुरु भएको छ । रेनु र विजयबीचको मतान्तर १८ मात्रै रहेको छ । उनीहरुको कडा टक्कर भइरहेको छ ।
अहिले बिहान ६ बजेसम्म ९३७० मत गणना सकिँदा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १८ मतले अगाडि छन् । उनले ३३२४ मत ल्याउँदा गठबन्धनबाट माओवादी उम्मेदवार रेणु दाहालले ३३०६ मत ल्याएर पछ्याइरहेकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११८७ मत प्राप्त गरे ।
उपमेयरमा चित्रसेन अधिकारीले ३६८८ ल्याउँदा एमालेसँग गठबन्धनमा उम्मेदवार भएकी राप्रपाकी हिमला गुरुङले २६५० मत प्राप्त गरेकी छन् । अहिले वडा नम्बर ३ को गणना जारी छ । यहाँ १२७९ मत गनिसकिएको छ ।
भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।
यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतको अग्रता हासिल गरेका छन् । मतगणनामा बालेनले ३८३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १९९६ मत ल्याएका छन् ।
मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका बालेनले क्रमशः अन्तर बढाइरहेका छन् । तेस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छिन् । अहिले काठमाडौंको १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।
काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।