Latest News

पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिकामा एमाले विजयी, समाजवादी तेस्रो (मतपरिणामसहित)

Nepalese Times May 16, 2022 (2 Year ago)    590 Views

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिका डोटीको जोरायल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री आले सोही गाउँपालिको रुवसकाँडाका मतदाता हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर पराजित भए भने एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भकी छिन् ।कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएर पराजित भएकी छिन् ।

यस्तै मन्त्री रामकुमारी झाँक्रीको पालिकास्थित वडाअध्यक्ष पदमा नेकपा एकीकृत समाजवादी पार्टी पराजित भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा समाजवादीलाई भाग परेको वडामा उनी सम्वद्ध पार्टी पराजित भएको हो।

वडा नं. २ मा गठबन्धनका तर्फबाट समाजवादीलाई हराउँदै एमाले निर्वाचित भएको छ।एमालेका माधवप्रसाद भुसालले ७८५ मत ल्याउँदा समाजवादीका गोकर्ण सेन ओलीले ६२५ मत प्राप्त गरेका छन्।

वडा नं. १ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका सुशील चन्दले ६९६ मत ल्याउँदा एमालेका प्रेम चन्द बोहोराले ५६२ मत ल्याए। वडा नं. ३ मा एमालेलाई हराउँदै नेपाली कांग्रेस विजयी भएका छन्। कांग्रेसका चेत बहादुर सेनले ८७० मत ल्याउँदा एमालेका इश्वर बहादुर जिसीले ६५५ मत ल्याए।

वडा नं. ४ मा कांग्रेसकै प्रेमबहादुर सेन ओली विजयी भएका छन्। उनले ५८९ मत ल्याउँदा एमालेका भीमप्रसाद भट्टराईले ३८५ मत ल्याए। मदाने वडा नम्बर ५ मा एमाले विजयी भएको छ। एमालेले ५२० मत पाउँदा कांग्रेसले ४१५ मत पाएको छ।

एमालेको पडक मानिने मदानेमा २०७४ मा एउटा वडा कांग्रेसले जित्दा बाँकी एमाले विजयी भएको थियो। अहिले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेन्द्र बहादुर कुँवरले ३ हजार ५८४ मत पाई अग्रता लिएका छन्।

एमालेका प्रेम बहादुर केसीले ३ हजार ५६८ मत ल्याएका छन्।उपाध्यक्षमा नेकपा एमाले ३ हजार ४१० मतकासाथ अघि रहेको छ। उनका प्रतिस्पर्धी माओवादीका उम्मेदवारले ३ हजार ३०४ मत ल्याएको छ। पालिकामा कडा प्रतिस्पर्धा हुँदा २ वटा वडाको मतगणना हुँदैछ।

त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए । नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो ।

उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि स्थानीय स्तरमा सहमति विपरीत नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए ।

उपाध्यक्षमा चार जनाको प्रतिस्पर्धा भएकोमा नेपाली कांग्रेसकी हिराकुमारी छन्त्यालले २७ सय ६८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी निसु रसाइलीले १९ सय ५८ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टीकी गीता घर्तीले ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेकपा एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख शालिकराम शर्माले मतदानको दुई दिनअघि मात्र आफूहरुले उपाध्यक्षमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेको बताए । यद्यपि एकीकृत समाजवादीले उपाध्यक्षलाई समर्थन गरेको भनी सार्वजनिक जानकारी गराएको थिएन ।

प्रतिक्रिया दिनुहोस