Latest News

भरतपुरमा रेनु र विजयबीच १४ मतको अन्तर, कसले मार्ला बाजी ?

Nepalese Times May 15, 2022 (2 Year ago)    564 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा ६ हज़ार ४ सय ७७ मत गणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल आफ्ना प्रतिद्वन्दीसँग जम्मा १४ मतले अघि छन्।

उनले २ हजार ३ सय १७ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भने २ हज़ार ३ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ७ सय ६१ मत ल्याएका छन्। त्यस्तै उपमेयरमा पनि गठबन्धनकै धेरै मत आएको छ।

उपमेयरको उम्मेदवारमा गठबन्धनबाट चित्रसेन अधिकारीले २ हजार ५ सय ५२ मत ल्याएका छन् भने राप्रपा उपमेयर उम्मेदवार हिमला गुरूङ १ हजार ८ सय ४९ मत ल्याएर उनलाई पछ्याइरहेकी छन्।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै  स्थानीय तहको निर्वाचन अन्तर्गत मनाङ र मुस्ताङबाट सबै नतिजा सार्वजनिक भएको छ । मनाङमा ४ र मुस्ताङमा ५ वटा गाउँपालिका छन्।

मनाङमा ४ गाउँपालिकामध्ये २ वटा नेकपा एमाले र २ वटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मुस्ताङको ५ गाउँपालिकामध्ये ४ वटा एमाले र एउटा कांग्रेसले जितेको छ।

 

प्रतिक्रिया दिनुहोस