Latest News

भरतपुरमा मतगणना सुरु, एमालेका सुवेदीको मत बढ्यो

Nepalese Times May 15, 2022 (2 Year ago)    976 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुरु भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको हो ।

भरतपुर १ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।

गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् । अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गनिएको छ । वडा नम्बर १ सहितको परिणाममा मेयरमा माओवादी उम्मेदवार दाहालले २ हजार ६ मत ल्याएकी छिन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत ल्याएका छन् ।

रेनुले विजयभन्दा ५२ बढी मतसहित अग्रता लिएकी हुन् । यसअघि योभन्दा बढि मतले रेनु अगाडि थिइन् । भरतपुरमा एमालेका मेयर उम्ेमदवार सुवेदीको मत बढ्न थालेको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अन्तर बढाएका छन् । अधिकारीले २ हजार २ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ५ सय ७१ मत ल्याएकी छिन् । उनीहरुको मतान्तर ६ सय ३० मतको छ । भरतपुरको वडा नम्बर २ को अध्यक्षमा कांग्रेस उम्मेदवारले १९ मतको अग्रता लिइरहेका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस