Latest News

माओवादी केन्द्रलाई १ मतले हराउदै अध्यक्षमा कांग्रेस विजयी

Nepalese Times May 15, 2022 (2 Year ago)    907 Views

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारलाई १ मतले पराजित गरेर कांग्रेस उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका छविलाल न्यौपानेले नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार पुरुषोत्तम सापकोटालाई १ मतले पराजित गरेका हुन्।

न्यौपानेले ४९६ र सापकोटाले ४९५ मत पाएका हुन्। वडा नं १ मा पनि नेपाली कांग्रेसका हुपबहादुर ख्का निर्वाचित भएका छन्। खड्काले ६७९ मत पाउँदा माओवादीका दिलप्रसाद कर्माचार्यले ५४१ मत ल्याए।

यो गाउँपालिका सभामुख अग्नीप्रसाद सापकोटाको गृह पालिका हो। पालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको अग्रता छ। अध्यक्षमा माओवादीका गंगाबहादुर तामाङले १ हजार १०२ मत र कांग्रेसका सुभाष तिमल्सिनाले १ हजार ३२ मत पाएका छन्।

उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङले ९६७ र एमालेकी सपना थापाले ९४७ मत पाएकी छन्। यस्तै रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेस विजयी भएको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो ।

आईतबार सम्पन्न मतगणनामा काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेशराज सुवेदीले ७ सय ८४ मत पाएका थिए । महिला वडा सदस्य र एक खुला सदस्यमा काँग्रेस र महिला सदस्य र खुला सदस्य १ मा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् ।

वडा अध्यक्षमा निर्वाचित पौडेल अघिल्लो निर्वाचनमा वडा सदस्य निर्वाचित भएका थिए । जनआन्दोलन २०६२–६३ का घाईते पौडेल निष्टावान राजनीतिक छवि वनाउने युवा हुन ।

यस्तै इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा भाईलाई हराउदै दाजु बिजयी भएका छन्। नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका हुन् ।

नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् ।

प्रतिक्रिया दिनुहोस