Latest News

वडा सदस्य हारेपछि पूर्वमन्त्री पद्मा अर्यालका श्रीमानले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 15, 2022 (2 Year ago)    577 Views

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ बाट खुला वडा सदस्य लडेका एमाले केन्द्रीय सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल पराजित भएका छन्।

जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति समेत भइसकेका पौडेललाई कांग्रेका सम्भव अर्यालले पराजित गरेका हुन्।वालिङ–१ मा खसेको १ हजार ८ सय ३४ मतमा पौडेलले ६४५ मत पाएका थिए भने उनलाई पराजित गरेका अर्यालले १ हजार ११२ मत पाएका थिए। उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ।

वालिङ नगरको मेयरमा दोस्रो कार्यकालका लागि कांग्रेसबाट दिलिपप्रताप खाँण र एमालेका कृष्ण खाँण उम्मेदवार छन्। वडा सदस्य निर्वाचित भएर जिल्ला समन्वय समितिमा जाने लक्ष्य राखेका पौडेलले पराजित भएपछि निर्वाचनमा हार/जित स्वाभाविक भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘चुनावमा गएपछि हार/जित भैहाल्छ। जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरू धैर्य बनौं।’

त्यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताए ।तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले सन्तोष मान्ने ठाउँ रहेको बताए ।

‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ । त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’, ज्ञवालीले भने ।

उनले स्थानीय तह निर्वाचनबाट जनमत एमालेको पक्षमा रहेको प्रारम्भिक संकेत मिलेको दाबी गरेका छन् ।उनले भने, ‘अलिकति गहिरो विश्लेषण गर्न पर्सिसम्म पर्खिनुपर्छ । त्यसले रुझानलाई देखाउँछ । अहिले प्रारम्भिक रुझान भएकोले टिप्पणी गरिहाल्ने स्थिति छैन तर जनमत एमालेको पक्षमा रहेको संकेत ग‍र्‍यो ।’

७५३ स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ८० वटा स्थानीय तहको भने मत गणना सुरु हुनै बाँकी छ । उपमहासचिव ज्ञवालीले अघिल्लो पटकभन्दा थोरै कम स्थानीय तहमा निर्वाचन जितिने संकेत पनि मिलेको बताए ।

एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको थियो । झण्डै तीन सय स्थानीय तह एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस